स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन व्यवस्थापिका संसदमा पेस

0

माघ–२० काठमाण्डाै। स्थानीय तह निर्वाचन विधेयक सम्बन्धी प्रतिवेदन व्यवस्थापिका–संसदमा पेस भएको छ। संसदको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिवेदन पेस गर्नुभएको हो। प्रतिवेदनमाथि भोलि बस्ने संसद बैठकमा छलफल हुने संसद सचिवालयले जनाएको छ। राज्य व्यवस्था समितिले स्थानीय तहको निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। समितिको बैठकले आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावसहितको विधेयक पारित गरेको हो। समितिको बैठकमा निर्वाचनकालागि थ्रेस होल्ड कति राख्ने भन्ने बारे छलफल भएपनि टुंगोमा पुग्न सकेन। नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना पार्टीले थ्रेसहोल्ड राख्न नहुने अडान राखेपछि समितिले यसको टुंगो लगाउन नसकेको हो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड राख्ने विषयमा आफूहरुको विरोध रहेको बताउनु भयो। ठूला दलका नेताहरुले भने निर्वाचनमा थ्रेस होल्ड राख्ने बताएका छन्। एमाले सांसद रामेश्वर फुयाँलले अहिलेसम्म कति प्रतिशत थ्रेस होल्ड राख्ने भन्नेमा विवाद भएकाले फेरि  छलफल गरि टुंगो लगाउने बताउनु भयो। ठूला दलले निर्वाचनका कम्तिमा तीन प्रतिशत थ्रेस होल्डको व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन्।

Share.

About Author

Leave A Reply